• आहिले तरंगमा
    सौराईका झल्काहरु
  • केहि क्षणमा
    सुचना तथा बिज्ञापन

समाचार

मुगु समृद्धिका सम्भावना र यथार्थहरू

मुगु समृद्धिका सम्भावना र यथार्थहरू
डा. दीपक गौतम
जुम्ला, कालिकोट, बाजुरा, हुम्ला र डोल्पाको बीचमा मुगु जिल्ला रहेको छ । मुगुको जनसंख्या वर्तमानसम्म ५५ हजार दुई सय ८६ मात्र हो । जनसंख्याको हिसाबले मुगु कर्णालीका अरु जिल्लाभन्दा सानो र डोल्पाभन्दा ठूलो हो । मुगुको खाद्यान्न उत्पादन क्षमता १५ हजार आठ सय क्वीन्टल छ भने खाद्यान्नको माग यहीबाट थाहा लाग्छ, मुगुमा एक लाख १४ हजार सात सय क्वीन्टल आवश्यक छ । यस आधारभूत तथ्यांकबाट निश्कर्ष निकाल्न सकिन्छ कि मुगुको स्वास्थ्यस्थिति, खाद्य सुरक्षा, आत्मनिर्भरता, पोषण लगायतका सबै आधार कमजोर छन् ।
 
रारा राष्ट्रिय निकुञ्जको स्थापनापछि क्रमशः कमजोर बन्न लागेको मुगुको उत्पादन न्यूनतामा चिसो हावापानी, हिमाली भूभाग, निकुञ्ज, ठाडो, भिरालो भू–भाग, सिँचाइको अभाव, यातायातको कमी, शिक्षाको कमी, कपित आधुनिक खाद्य व्यवहारको विकृत मानसिकता प्रमुख कारणहरू हुन् । 
 
त्यति मात्र होइन, हुँनेखाँनेहरूले मुगुमा राजनीति गर्ने तर नेपालकै प्रमुख सहरहरू सुर्खेत, काठमाडौं, नेपालगन्ज, पोखरातिर घर बनाउने, चुनावताका मुगुका जनताकै छोरो भन्ने आयस्रोत सहरलाई पोस्ने कर्मचारी नेता, कार्यकर्ता र एनजीओकर्मी, शिक्षक, व्यापारी, ठेकेदार, स्वास्थकर्मीका सामाजिक परिवेश पनि न्यून खाद्य उत्पादनका प्रमाणहरू हुन् । मुगुको करान क्षेत्रको दलित, महिला र सीमान्तकृत जनजीवन झन् दर्दनाक छ । 
 
यातायात छैन, खाद्य छैन, पैसा छैन, शान्ति छैन कहाँबाट आउँछ रु अत्याधिक चिसो छ । प्रतिवर्ष सुत्केरी स्तनपान गराइरहेका महिला, केटाकेटी वृद्धवृद्धा, गरीबको जीवनलाई धर्तीको स्वर्ग रारा, राराकी अप्सरा, धरतीकी अप्सरा, राराकी सौराइ जस्तो उपमाले कटाक्ष भाव पोख्दैछ । ‘ठूला र आगन्तुकलाई चैन, मुगाली गरीबलाई ऐन हेर्न’ मुगुनै पुग्नुपर्छ ।
 
चिसोले पानीका पाइप जम्ने, सिमान्तकृतलाई दम, रुघा, खोकी, निमोनिया, रक्तअल्पता बढ्ने मुगुको कात्तिकदेखि चैतसम्म सबैको साझा समस्या हो । आधुनिक सञ्चारका साधनहरूले काम गर्न नसक्नु, नपुग्नु, उपलब्ध नहुन मुगुको सीमा हो । यस आधारबाट मुगुको समृद्धिको पहिलो बाधा हो खाद्यान्नमा परनिर्भरता । 
 
खाद्यान्नको समृद्धिको मनोवैज्ञानिक शर्त हो, खाद्यवानी परिवर्तन । यो भनेको रैथाने उत्पादन पनि उत्कृष्ट, अब्बल, स्वास्थ्यबद्र्धक, रेसादार, पोसिलो, रसिलो हुन्छ भन्ने विश्वासको निर्माण । मुगु जतिबेलासम्म समुन्नत थियो, त्यतिबेलासम्म मुगुले टालेका सुरुवालमा आत्मसन्तोष लिने, कागुनो, फापर, चिनो, लट्टे, माट, आलु, सिमीका खानामा प्रफुल्ल हुने समाजको विज्ञान छँदासम्म मुगु समुन्नत थियो, यहाँको उत्पादन तिब्बत जान्थ्यो । मुगालीले औलेलहरूलाई उन, मासु, खाद्यान्न दिन्थे नुन मात्र लिन्थे । 
 
मोचा, स्वीटर, घुम, राडीपाखी, टोपी, कम्मल मुगालीका नामले तल्लो क्षेत्रमा ख्याति थियो । कथित आधुनिकताका नाममा सेतो चामललाई प्रमुख सानदार खाद्यान्न ठान्ने तर पोसिला रैथाने बालीको रक्सी पार्ने, भेडा गोठालालाई हेप्ने, रैथाने उत्पादनलाई हेला गर्ने जस्ता सामाजिक नकारात्मक मनोविज्ञान परिवर्तन विना बाहिरियाले जति गरे पनि मुगाली समृद्धि अप्राप्त हुनेछ ।
कथित आधुनिक जीवनशैली मुगाली जनताको पहिलो दुश्मन हो । 
 
ठूलावडाका कुरा नगरौं । अरु घोडामा चढ्दैमा मुडा चढ्दा समस्या समाधान हुन्न । स्थानीय घरेलु, साना तथा परम्परागत उद्योगका, पशुपालनको, वैज्ञानिक आधुनिक फलफूल खेती विकास विनाको मुगाली भावी समृद्धि आकाशको फल आँखा तडी मर हुन्छ । 
 
यातायात समस्याका कारण मुगाली मुख्य बजारको पहुँच हुन सकेको नभए पनि अहिले मुगाली उत्पादन खासगरी केराउ, सिमी, फापर, मार्सी, भांगो, आलुले सुर्खेतमा राम्रो अर्गानिक बजार पाएका छन् र काठमाडौं तथा पोखरामा समेत पैठारी बढेको छ । सम्पन्न परिवारले मुगाली उत्पादनलाई रोजेका छन् । 
 
यो सकारात्मक पक्ष भए पनि आम जनताले त्यसको फाइदा उठाउन पाएका छैनन् । बिचौलिया मोटाएका छन् र खास उत्पादक दुब्लाएका छन् । मुगाली परम्परागत खाद्यान्नमा तागत छ र रस छ, पोस छ, स्वाद छ । प्रतिवर्ष सुत्केरी मृत्युदर बढ्नाले मुगु निसाहय, अनाथ, बालबालिकाको जिल्ला बन्न नदिन सुविधासम्पन्न पोषणसहितको, दक्ष जनशक्ति सम्पन्न अस्पतालको अनिवार्य आवश्यकता छ । डाक्टरविना अस्पताल रहने कर्णालीकै विशेषता हो । 
 
आवश्यक सुविधाविना डाक्टर नबस्ने भएकाले मुगुलाई विशेष स्वास्थ्य क्षेत्र घोषणा गर्नु पहिलो प्राथमिकता हो । धामी झाँक्री, पूजारी तथा झारफुक अनि छोइछिटो बार्ने मुगाली पुरानो परम्परालाई नभत्काउँदासम्म बनेका अस्पताल, जनशक्ति औषधिले प्रभावकारी भूमिका खेल्नसक्ने छैनन् । 
 
पोसिला खाना विना स्वास्थ्यस्थिति सकारात्मक बन्न सक्दैन, सरसफाइप्रतिको जनचेतना आवश्यकता छ । रक्सी, जाड र चुरोटको निषेधविना सरकारी सहयोगहरूले केही काम गर्न सक्ने छैनन् । फलफूलप्रतिको नकारात्मक विश्वास आधुनिक मुगाली समाजको विश्वास बन्नेछैन । गुणस्तरीय सेवाका लागि राज्यले विचौलीयालाई हैन मुगाली सच्चा समाजसेवीलाई जिम्मा दिनुपर्छ । 
 
मुगाली सबै महिलाको शरीरमा रगतको मात्रा कम छ, दलितको कम छ, बालबच्चाको कम छ र धामी झाँक्री र पूजारीको कम छ । यसका लागि जिल्ला बाहिरबाट रगतको जोहो मुगाली पहिलो स्वास्थ्यसरजाम हो । सेना, प्रहरी, कर्मचारी, एनजीओकर्मी, व्यापारी, शिक्षकबाट रगतको स्रोतहरू बढाउनेपर्ने स्थिति छ ।
 
मुगु विकासका लागि सडक, जलविद्युत, पर्यटन, कृषि, प्राथमिक सम्भावनाहरू हुन् । यी प्राथमिक आधारभूत उपयुक्त सम्भावनाहरूलाई नेपाल सरकार तथा सम्बद्ध स्थानीय निकायहरू, कर्णाली विकास आयोजना, दुर्गम विकास समिति, पर्वतीय विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाकासाथै मुगाली समाज तथा विज्ञहरूलाई गाँसेर विकासका प्राथमिकता, माग र कार्यान्वयन तथा मूल्यांकनसँग नलादा उत्तरदायित्व र जिम्मेवारीविहीन विकास हुन जान्छ । 
 
यी संस्थाहरूले विनियोजित रकम कूलमा जोड्दा मुगालीको हातमा अरबौं पुग्छ तर फल भने टाढाँबाठाहरूलाई हुन पुगेको छ । मुगुको सदरमुकाम तथा वरपर मिसाएर नेपालकै पर्यटकीय सहरका रूपमा योजना, लक्ष्य, उद्देश्य, कार्यक्रमहरू सञ्चालन गर्न सकिने मुगाली पहिलो सूचक रहेपनि २४ गाविसमा छितरिएर रहेका दुर्गम, पातला र विकाट मुगाली बस्तीको एकीकृत विकासका लागि एकीकृत बस्ती विकास वास्तविक मुगुको आजको पहिलो आवश्यकता र माग हो ।
 
भूकम्पीय दृष्टिले भू–बनौटका जगबाट आधुनिक वैज्ञानिक स्मार्टबस्ती नबनाउँदासम्म मुगुको भुइँचालो भविश्यको ठूलो शत्रु बन्नेछ । छायानाथ र छायाँ चुलीले धानेको मुगाली प्रकोपले भावी प्रकोपलाई धान्ने छैन । जडिबुटी, फलफूल, चौंरीपालन, चंखेली, राराताल, करान, खत्पाड क्षेत्र त छँदैछन् भने मुगु कर्णालीको प्रचूर विद्युत उत्पादन क्षमता, जलयातायात, जलक्रिडा, मत्स्यापालन, सिँचाइ तथा मनोरञ्जन पवित्रतम मुगाली प्राकृतिक सम्पदाका फलहरू हुन । 
 
साना, मझौला, घरेलु ऊर्जा उत्पादन, उद्योग तथा सामुदायिक वन त्यस्तै व्यवहारिक तर सुक्ष्म ग्रामीण आयआर्जनहरू रहेका छन् । देवदार, लौठ लगायत थुप्रै सल्लाका प्रजाति, वन्यजन्तु, वन्यचरी, वन्यस्रोतसँग मुगाली जनजीवन प्रत्यक्ष जोडिएको छ । वनमाथिको अत्याधिक परनिर्भरतालाई ऊर्जाद्वारा विस्थापित नगरिदासम्म मुगाली वास्तविक जीवनको थालनी हुनेछैन । आलु, ओखर, अंगुर, सिमी , जौ, उवा, कोदो, फापरको अर्गानिक बजारीकरण तथा अन्तर्राष्ट्रियकरणले मुगाली फापरद्वारा प्रदित युरिकएसिड र हाइप्रेसर नियन्त्रित हुनेछ । 
 
फापरले अमेरिकामा, मार्सीले भारतमा, रारा पर्यटनले विश्वमा प्रचारप्रसार पाउन आवश्यक छ । कर्णाली करिडोर, हिल्सा–जुम्ला–मुगु–हुम्ला प्रस्तावित सडक, नाम्चे–नाग्ला, गमगढी–से–फोक्सुन्डो–ढोरपाटन पर्यटनस्थल, द ग्रेट हिमालयन ट्रेल, मुस्ताङ–डोल्पा–मुगु–हुम्ला हिमाली सांस्कृतिक–धार्मिक सडकद्वारा वास्तविक मुगाली जनजीवन स्तरीय र समृद्ध बनाउन सकिने जीवन्त तर लुकाइएका सम्भावनाहरू हुन् । 
 
एउटा कुरा सधैं बाँकी रहन्छ, बृहत आयामका संस्थाहरू सेना, प्रहरी, सशस्त्र, कर्मचारी जीवनभित्रै पनि विकासका अभ्यासहरू। प्रतिभाहरू ब्यूत्पत्तिहरू, समाधिहरू खोजेर भित्रै लगानी गर्ने वातावरण आजको मुगाली सिर्जनशील सूचकांक हो । 
 
कृषिका बारेमा थुप्रै जानेको तर व्यवहारमा अल्छी मान्ने कर्मचारी, नेता हाकिमलाई पदच्यूत गरी आफू, समाज र संस्थालाई परिवर्तन गर्ने व्यक्तिको स्थापना आजको मुगाली अपरिहार्य आवश्यकता मात्र हैन आधुनिक समृद्ध नेपालको वस्तुगत माग हो ।

Leave Comment

प्रमुख समाचार

प्रोफाइल