• आहिले तरंगमा
    सुचना तथा जानकारी
  • केहि क्षणमा
    बिबिसी नेपाली सेवा (साझँपख)

समाचार

मुगाली सपना

मुगाली सपना
  • हरेक रात मान्छेले सरदर कति सपना देख्छ ? खुला आँखाले कति सपना देख्छजस्ता तथ्यांक र मिथ्यांकको बारेमा मलाई धेरै थाहा छैन । तर, गएको जेठमा मुगुमा भेटिएका केही मानिसले सुनाएका सपनाले मलाई बेला–बेलामा झस्काइरहन्छ ।
नारायणी देवकोटा
भनिन्छ, ‘खुला आाखाले देखिने सपनाले मानिसलाई निदाउन दिंदैन रे’ ! निद्रै हरण गर्ने–नगर्ने हामी सबैका धेरै सपना हुन्छन् । जुन फेरिइरहन्छन्, बेला–बेला सामाजिक सञ्जालमा मानिसहरू आफू टोलाइरहेको फोटो हालेर भक्तराज आचार्यको ‘हजार सपनाहरूको माया लागेर आउँछ’ भन्ने गीतको लाइन लेखिरहन्छन् । 

कतै नलेख्नेहरूलाई पनि आफ्ना हजार सपनाको माया लागिहाल्दो हो । हरेक रात मान्छेले सरदर कति सपना देख्छ ? खुला आँखाले कति सपना देख्छजस्ता तथ्यांक र मिथ्यांकको बारेमा मलाई धेरै थाहा छैन । आफ्नाबाहेक अरूको सपानामा खास रुचि नभएको कारण मैले कसैको सपनाबारे त्यति धेरै खोतलखातल गर्न पनि सक्दिनँ । तर, गएको जेठमा मुगुमा भेटिएका केही मानिसले सुनाएका सपनाले मलाई बेला–बेलामा झस्काइरहन्छ । 

दिनेश सरको फोन 
मुगुमा म रारा हेर्ने मुख्य सपनाको फेर समाउँदै गएकी थिएँ । रारातालको किनारमा भेट भएको थियो सिरहा घर भएका मुगुमा पढाउने सरकारी शिक्षक दिनेश साहसँग जो ४८ सालदेखि मुगुका विभिन्न गाउँमा बसेर सरकारी विद्यालयमा पढाइरहेका थिए । जेठ दोस्रो साता सरकारले विद्यार्थीलाई पठाएको किताब लिन गमगढी हिंडेका । ‘जंगलको बाटो छ, साँझ फर्कनुपरे दुई जना मात्रै नफर्किनुहोला’ बिहानै पर्वत बलेवा घर भएका आर्मी भाइले हामीलाई भने । त्यही कारण गमगढी हिँडेका दिनेश सरलाई एक छिन कुराएर साथी बनाएका थियौं म र शोभा दाहालले । पच्चीस वर्षदेखि मुगुमा पढाएको उनको कुरा सुन्नेबित्तिकै हाम्रो स्वाभाविक प्रश्न थियो, ‘यति लामो समय एकै जिल्लामा किन नि ?’ २५ वर्ष कुनै शिक्षकले आफू जन्मे हुर्केको परिवेशभन्दा पर पुगेर किन पढाएको होला ? 


‘पछाडि परेको कर्णालीको शिक्षामा आफ्नो योगदान होस् भनेर’, वा अरु ? हाम्रो प्रश्नको उत्तर जे पनि हुन सक्थ्यो ! तर, ‘यहाँबाट सरुवा हुन आफ्नो मान्छे नाइँ’ उनले मुगाली लवजमा भने । ठाउँमा आफ्नो


मान्छे नभएको वा ठाउँमा भएका मान्छे आफ्नो नभएका तराईको पातलो ‘साह’ थर भएका एक पुरुष, हुर्कंदै गरेका तीन छोरीका बा, जसले हरेक दिन बिहान रेडियोमा कलिला किशोरीको बलात्कारका समाचार सुन्छन् । सायद त्यसैले होला पछिल्लो समय दिनेश सरले घर पायक जागिर चाहेका रहेछन् । त्यसका लागि एक पटक जिल्ला शिक्षा कार्यालय र आफ्नो समुदायको नेता धर्मनाथ साह सामान्य प्रशासन राज्यमन्त्री भएका बेलामा उनी आफ्नो बढुवाका लागि भन्न गएका पनि रहेछन् । ‘पटक–पटक भन्न जानुभयो त ?’ मैले सोधें । ‘आफ्नो समय पनि नाइँ’ भने दिनेश सरले ।


उनको कुरा सुनेपछि साथी शोभाले भनिन् ‘यस्तो पनि हुन्छ ?’ शोभाले आफ्ना टाढाका नातेदार तत्कालीन शिक्षामन्त्रीसाग भनसुन गरेर भए पनि दिनेश सरको सरुवा गराइछाड्ने कसम खाइन् । सरुवा, जागिर, बढुवाजस्ता कुरा आउँदा म एमालेको सरकारमा हुँदा झापा आन्दोलनका योद्धाले आफ्ना छोरालाई सामान्य जागिर पार्टीले व्यवस्था गरिदिन नसकेको भनेर एमाले केन्द्रीय कार्यालयमा आत्महत्या गरेको घटना सम्झिरहन्छु ।

 

मैले शोभालाई भने, ‘त्यसो नभनिहाल गाह्रो हुन्छ सरुवा गर्ने काम, त्यसका नियम हुन्छन् ।’ तर, उनले प्रतिक्रिया दिइन्, ‘तपाईंले चाहने हो भने कुनै समस्या हुादैन ।’ शोभाको कुरा सुनेपछि दिनेश सरले मेरो अनुहारमा हेरें । मानौं कि म भने उनको समस्या समाधान भइहाल्ने स्तरकी मान्छे हुँ । 


कुनै दिन मान्छे भेटेछु वा लेख्ने जाँगर चलेछ भने काम लाग्ला भनेर मैले थकाइ मार्न बसेको बेलामा दिनेश सरको बारेमा सामान्य जानकारी टिपें । उनले पनि हाम्रो फोन नम्बर आफ्नो मोबाइलमा टिपे । मैले पनि कुनै दिन उनको सरुवा गरिदिने मानिस भेटिएला कि भनेर उनको मोबाइल नम्बर टिपें । गमगढी फर्केको भोलिपल्ट म सीप भन्ने गाउँमा महिलाहरूको हूलमा सुतिरहेकी थिएँ । थाकेर लोद परेकी ! मस्त निद्रामा घुर–घुर फोन बज्यो, यस्सो घडी हेरेको बिहानको चार बज्दै थियो । दिनेश सरले फोन गरेका ! फोन काटेर सुतें । फेरि एक छिनपछि उनले फोन गरे ।

 

खास कुरा केही थिएन यसै सन्चो–विसन्चो सोध्न भने । त्यसपछि धेरै दिन बिहानै उनका फोन आए । खास कुरा केही भनेनन् । म बुझ्थें, ‘मेरो सिरहामा सरुवा भए छोरीहरूको पीरले मलाई औडाह हुँदैन’ भन्ने उनको कुरा ! उनले यसै गरी–गरी शोभालाई पनि फोन गर्थे, उसको फोन नउठेपछि फेरि मलाई गर्थे ।
म आफ्नै काममा व्यस्त थिएँ । उनको फोन आउँदा सम्झन्थें अनि बिर्सन्थें । मोबाइल फेरे पछि उनको नम्बर पनि हरायो । एक दिन बिहानको ३ बजे फोन आयो । नम्बर नहेरी फोन उठाएँ । कसैले भोजपुरी लवजमा भन्यो, ‘दाइलाई सर्पले टोक्यो !’ धेरै भयो मैले मेरा बाका सहयोगीको बोली नसुनेको ! मेरा हातखुट्टा काम्न थाले । आत्तिएको स्वरमा सोधें, ‘अहिले कहाँ हुनुहुन्छ ?’ नचिनेको ठाउँको नाम भने । ‘किन त्यता लागेको ?’ भनेपछि उनले भने, ‘घरनजिकै यही अस्पताल छ ।’ त्यसपछि पो मैले फोन आएको नम्बर हेरें । ९८४८ वाला ! उफ दिनेश सर थिए । मैले मोबाइल अफ गरेर सुतें । मोबाइल अन गरेपछि फेरि फोन बज्यो दिनेश सरको । मैले उनका दाइको स्वास्थ्यस्थिति सोधें । सामान्य रहेछ । अनि भनें, ‘सर अब मलाई फोन नगर्नू है !’ उनले सोधे, ‘किन ?’ । मैले ‘किन गर्नुहुन्छ त मलाई फोन ?’ भनेपछि ‘ए’ भनेर उनले फोन राखे । मलाई सरुवा—बढुवा गर्ने काममा आफ्नो क्षमता नभएकोमा यस्तो बेलामा ग्लानि हुन्छ । 

पूर्ण लावडका सपना 
मलाई गमगढीबाट दुई दिन परको सोरु भेग लैजान गमगढी आएका थिए जिम गाविसका भाइ पूर्ण लावड ! गमगढीबाट केही बेर ओरालो झरेपछि आफ्नो परिचय दिंदै भने, ‘जे भए पनि आफूलाई देखेर गर्व लाग्छ दिदी !’ मलाई उत्सुकता लाग्यो सत्र वर्षको केटाको आफैंप्रति गर्व गर्नलायक कुरा के हुँदो रहेछ भनेर । उनले भने, ‘पोहोर हाम्रो स्कुलबाट दुई विषय मात्रै लागेर फेल हुने विद्यार्थी म मात्रै हुा ।’ उनले पढेको विद्यालयबाट दलितहरू अहिलेसम्म कि त दस कक्षासम्म पुगेकै रहेनछन्, पुगेका पनि त्यति थोरै विषय लागेका छैनन् । अर्थात् सबका सब विषयमा फेल हुँदा रहेछन् ।

काठमाडौंमा साठी प्रतिशत ल्याएका छोराछोरीमाथी कति बा आमाले गुनासो गर्छन् राम्ररी नपढेको भनेर ! उनलाई भने दुई विषय लागेकोमा पनि गर्व रहेछ । पछि गाउँ गएपछि थाहा भयो, पूर्णले मात्रै आफैंमा गर्व गर्ने रहेनछन् । उनका परिवार र गाउँलेले पनि गर्व गर्ने रहेछन् । उनीसँग १० दिन उकालो–ओरालो, भात–भान्सा गरियो । कट्टर ब्राह्मणहरूको नेतृत्व भएको ठाउँमा एउटा दलित परिवारमा जन्मिएको १७ वर्षीय गरिब किशोरको छटपटी र कुदाइ देखेर म बेला–बेला आत्तिन्थें ।


१३ वर्षको उमेरदेखि नै उनी गाउँमा चर्चित रहेछन्, विद्यालयमा बााडिने हलुवा खाने बेलामा बाहुन बच्चाको लाइनमा दलित बस्यो भनेर प्राध्यनाध्यापकले कुटपिट गरेपछि । उक्त कुटाइको मानसिक पीडा र शरीरभरि सुम्ला बोकेर दुई दिन परको गमगढीमा रहेको पुलिस थानामा गएछन् पूर्ण । उनको त्यो साहसलाई गमगढीबाट गएका प्रहरीले त साथ दियो नै, दलितको क्षेत्रमा काम गरिरहेको केड नामक गैरसरकारी संस्थाले आफ्नो फिल्ड कार्यालय उनकै गाविसमा सारेछ ।

कार्यालयमा आएका कास्की हंसपुरका रामचन्द्र न्यौपानेले उनैलाई सहयोगी बनाएछन् । बिहान–बेलुका खाना पकाउने, पानी ल्याइदिने (उनको गाउँमा पानीको सधैं अनिकाल पर्छ, एक खेप पानी भरेर ल्याउन लगभग एक घण्टा लाग्छ) र दिउँसो विद्यालयमा नियमित पढ्न जाने सर्तमा । उनले न्यौपाने सरको सर्त माने, अनि कार्यालय उनको ससुराली गाउँमा बस्ने भयो । पढ्ने र कार्यालयमा सहयोगीको रूपमा काम गर्ने भएपछि उनले घर र ससुराली घरमा काम (मुगुमा ज्वाइँलाई खेत जोताउने, दाउरा कटाउने र गाई–बाख्रा हेर्न लगाइन्छ) गर्न भने पाएनन् । ससुराली घरमा परेको बेलामा काम गर्न नजाने भएपछि ससुरा रिसाएर गाली गर्दा रहेछन्, ‘... संस्थाको पिउन’ भनेर । 
ससुरालीको घरछेउबाट हिँड्दै गर्दा पूर्ण भन्थे, ‘यिनको अगाडि साँच्चिकै हाकिम हुने हो दिदी, तर कसरी भन्ने थाहा छैन ।’ हाकिम कसरी भइन्छ भन्ने मेलो नभएका उनले अमर न्यौपानेको ‘करोडौं कस्तुरी’ भन्ने पढेका रहेछन् । करोडौं कस्तुरीको र त्यसको व्यापारको चर्चा उनको कार्यालयसम्म पुगेको रहेछ ।

यत्तिको लेखेपछि धेरै चर्चित भइने रहेछ भनेर उनले पनि लेखेका रहेछन् एउटा डायरी । एक रात खाना खाएपछि, ‘दिदी मेरो उपन्यास पनि पढ्नु न’ भन्दै उनले उक्त डायरी मलाई दिएका थिए । गएको साउनमा हाकिम बन्ने सपना बोकेर उनी एक्लै काठमाडौंमा आए । अनेक हन्डरपछि अहिले एक डकुमेन्ट्री बनाउने पत्रकारको सहयोगी बनेर भूकम्पले भत्काएका गाउँहरूमा डुलिरहेका छन् । हेरौं उनका सपना कसरी सकार होलान् ?

कागेका सपना 
सोरुकोटमा तीनवटा मात्रै पसल छन् । एउटा पसलकी साहुनी हुन् कागे विश्वकर्मा । होची–होची हाासिरहनुपर्ने युवती । एक दिन उनको पसलमा चिया खाँदै गर्दा मैले हिम्मत जुटाएर सोधें, ‘तपाईंलाई किन कागे भनेका ?’ मेरो प्रश्नको जवाफमा ‘पहिला त सबैले माया गरेर काली–काली भने, भन्दाभन्दै कागे भने, अब त बानी भयो,’ उनले सुनाइन् । कागे २१ वर्षकी भइ्न । सात वर्षको छोरो छ । श्रीमान्ले अर्कै श्रीमती लिएर अन्तै बस्छन् रे ।

‘तपाईंले बहुविवाहको मुद्दा हाल्नुभएन त ?’ मैले सोधेंकी थिएँ । ‘केटाले अर्काकी जोई लगेको भए पो जारी हुन्थ्यो, केटीले अर्काको पोइ लागेकोमा केको मुद्दा ?’ एउटा भाइले भने । मैले ‘एउटी जोई हुादाहुँदै पोइ (मुगुमा श्रीमान्, श्रीमतीलाई बोलीचालीमा जोई–पोइ भन्ने चलन छ) ले अर्की जोई ल्याए मुद्दा लाग्छ’ भनेपछि कागे खुसी भइन् । तर, मुद्दा हाल्न चार दिन (दुई दिन जान दुई दिन आउन) को बाटो को गमगढी गइरहोस् ? उनलाई झ्याउ लाग्यो । 


एक हप्ता उनको गाउँमा बस्ता साथीजस्तै भइन । नाताले उनी पूर्ण भाइकी जेठी सासू पर्थिन् । म फर्कने अघिल्लो दिन पूर्णकी जोई पिउली र कागे आएर दुई घन्टा गफ गरे । धेरै कुरा पूर्ण र पिउलीको राम्ररी अगाडि जान नसकेको दाम्पत्यमा केन्द्रित थियो । तर, कागेले पनि आफ्ना सपना सुनाउन भ्याइन्, ‘पसल राम्ररी चल्ने रे, धेरै पैसा कमाउने रे, गमगढीका जस्ता ठूला घर बनाउने रे मैले, त्यही बेला हाम्रो पोइलाई छोडेर जानेरे उसकी जोईले, मलाई उसले खोज्दै आउने रे, म भने कालो चस्मा लगाएर उसलाई देखेको नदेख्यै गर्ने रे !’ श्रीमान्को घरमा आफ्नो जिम्मेवारीबाहेक कुनै अधिकारको बारेमा नसोचेकी कागेको सपना सायाद गमगढीदेखि कोल्टीसम्म पुग्ने सडकमार्ग बनेपछि पूरा होला कि ?
 
रामचन्द्र सरको मौरीको घार
 
सोरुकोट पुगेपछि केडको फिल्ड कार्यालय पस्दै गर्दा रामचन्द्र न्यौपानेले बाटो, खाना कस्तो भयो भन्नेबारेमा सोधे । जेठको चर्को घाममा दुई दिन मरुभूमिजस्तो बाटो हिंडेर पुगेकी मलाई कर्णालीका डाँडामा रूख जोगाउन सकिन्छ होलाजस्तो लागिरहेको थियो । त्यसैले भनें, ‘यति सारै बस्तुभाउ नछोड्ने हो भने डााडाहरू हरिया हुन्थे होलान्, बरु चुत्रोकै झाडी भए पनि आँखालाई शीतल त हुन्थ्यो ।’ मेरो कुरा सुनेपछि रामचन्द्र सरले ‘त्यो चुत्रोको जंगलमा कति राम्रो मह बन्दो हो ?’ भने ।

मौरीपालनमा दक्षता भएका रामचन्द्र सर बडो सरल थिए । केडको काम कृषि, महिला स्वास्थ्य र दलितजस्ता मुख्य विषयमा केन्द्रित थियो । सोरुकोटका बासिन्दालाई रामचन्द्र सरले मौरीपालन सिकाएका थिए । भेटिएका मान्छेलाई बेला बेलामा सोध्थे, ‘मौरी क्या गर्दा छन् ?’ मानिसहरू ‘भित्र बाहिर गर्दा’ भनेर उत्तर दिन्थे । 
मुस्ताङ गएको समयमा कागजी बदाम (अल्मोन्ड)को बिरुवा देखेपछि ५० बिरुवा मुस्ताङदेखि मुगुसम्म पुर्‍याएर गाउँलेलाई बाँडेका रहेछन् उनले । गाउँमा जाने काठमाडौंका मान्छेलाई उनी ती बिरुवा पनि देखाउँथे । काठमाडौंबाट आएको भनेपछि गाउँका मान्छेहरू मलाई ‘रारा पुन गई हौ ?’ भन्थे । मानौं रारा काठमाडौंको ताल हो । सोरुकोटका धेरैले रारा देखेका थिएनन् । म भर्खर पुगेको त्यो स्वर्गको कुरा नगरी कसरी रहन सक्थें र ? ‘राराको फूल र त्यहाँका मौरीको सङ्गीत ।’ 


एक दिन कुरै कुरामा ‘रारामा रहेको आर्मीले रारा वरिपरि मौरीको घार राखे हुने नि !’ भनेर मैले भनेपछि रामचन्द्र सर बहुत उत्साहित भएर भने ‘त्यसको क्वालिटी कति राम्रो हुँदो हो ? बरु मै गएर दुई वर्ष त्यसमा काम गर्थें ।’ बेला–बेलामा रामचन्द्र सर राराको जंगलमा सरकारले मौरीपालन गर्ने हो वा अरूलाई ठेक्का दिने हो भने महिनामै लाखौं मह उत्पादन हुने हिसाब निकाल्थे । काठमाडौं फर्केपछि सरकारले ल्याउन लागेको भूमि प्रयोग नीति, खाद्य सम्प्रभुता वा भूमिसुधारजस्ता विषयका कार्यक्रममा जाादा वा फूलले ढाकेका जंगल र चौर पुग्दा म रामचन्द्र सरको मौरी सपना सम्झिरहन्छु । नेपाल जंगलमा मौरी पालेर मह बेच्ने देश कहिले बन्ला हाम्रो ?

Source: Kantipur

Leave Comment

प्रमुख समाचार

प्रोफाइल